Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मौद्रिक नीति भोलि सार्वजनिक गर्नेगरी राष्ट्र बैंक अन्तिम तयारीमा

मौद्रिक नीति भोलि सार्वजनिक गर्नेगरी राष्ट्र बैंक अन्तिम तयारीमा

काठमाडौं, २८ साउन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीति भोलि (शुक्रवार) सार्वजनिक गर्ने बुझिएको छ । राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्नेगरी अन्तिम तयारी गरिरहेको बेला सरकार परिवर्तन भएपछि नयाँ सरकारको प्राथमिकतालाई समावेश गर्न भन्दै सार्वजनिक गरिएको थिएन ।

राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘सम्भवतः भोलि मौद्रिक नीति सार्वजनिक हुनेछ, त्यसका लागि अन्तिम तयारी भइरहेको छ ।’

सरकारले ‘श्वेतपत्र’ जारी गरिसकेकाले मौद्रिक नीति सार्वजनिक गर्न ढिला नगर्न जानकारहरूले पनि राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई सुझाउँदै आएका छन् । मौद्रिक नीति सार्वजनिकमा ढिलाइ गर्दा वित्तीय स्थायित्वमा खलल पुग्ने र नीतिगत अस्थिरता हुने भन्दै तत्काल सार्वजनिक गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आइतवार जारी गरेको साझा न्यूनतम कार्यक्रमले समेत बजेटको नीति तथा कार्यक्रमलाई समेट्नेगरी र मौद्रिक नीतिलाई सहज हुनेगरी नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । सरकारले राज्य सञ्चालनका लागि ‘संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेपछि मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सहज भएको छ । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनको सन्दर्भमा देखिएको अन्योलका बीच नयाँ बजेटलाई पर्खिएको राष्ट्र बैंकले श्वेतपत्र आएसँगै मौद्रिक नीति सार्वजनिक गर्न अग्रसर भएको हो ।

अहिले कोरोना प्रभावित उद्योगी, व्यवसायी, बैंकर्स एवम् ऋणी राहतका लागि मौद्रिक नीतिको पखाईमा छन् । केन्द्रीय बैंकले बजेटमा छुटेका राहतका प्याकेज तथा अन्य नीतिगत व्यवस्थालाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्न सक्छ । यो अवस्थामा मौद्रिक नीति आउन ढिलाइ हुँदा सिंगो आर्थिक क्षेत्र अलमलमा परेको देखिन्छ । दोस्रो लहरको कोरोना संक्रमण र त्यसको नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण शिथिल बनेको आर्थिक क्षेत्रले यसपटक पनि गतवर्षका सुविधा तथा छूटको निरन्तरताको अपेक्षामा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x