सार्वजनीक सवारीमा गीत बजाए वापत रोयल्टी, बार्षिक २० करोड भन्दा बढी राजस्व संकलन हुने अनुमान
मानमती पाण्डेय
काठमाडौं, १९ चैत । सार्वजनिक यातायातले पनि अव देखि गीत बजाए वापत रोयल्टी तिनुपर्ने भएको छ । सांगितीक श्रष्टाहरुको माग अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सो व्यवस्था लागु गर्न निर्देशन दिएपछि यातायात व्यवस्था विभागले यातायात ब्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै सोमबार देखि देशभर सो व्यवस्था लागु गरेको हो ।
रोयल्टी संकलनका लागि आजबाट देशभरीका ३४ वटै कार्यालयहरुमा नेपाल संगीत राजस्व संकलन समाजको काउन्टर संचालनमा ल्याइसकेको जनाएको छ । रोयल्टी बैंकिङ प्रकृयाबाट मात्र भूक्तानी गर्नुपर्ने छ । रुट इजाजत तथा विलबुक नविकरण गर्नजादा संगीत रोयल्टी चुक्ता गरेको प्रमाणपत्र अनिवार्य गरिएको कार्यालयले जनाएको छ। यो व्यवस्था निजि सवारी साधनमाको हकमा भने लागु नगरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।
श्रष्टाको प्रतिलिपि प्रयोग गरेवापत बसले २ हजार रुपैयाँ, मिनी बसले १४ सय रुपैयाँ , ट्रक तथा ट्रिपरले १२ सय र माइक्रोले एक हजार रुपैयाँ बार्षिक रुपमा भूक्तानी गर्नुपर्ने छ । यसबाट बार्षिक २० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन हुने अनुमान गरीएको छ । सो शुल्क उठाइसकेपछि सार्वजनीक सवारी चालकलाई रोयल्टी चुक्ताको प्रमाणपत्र दिइने छ । यो व्यवस्थामा नेपाली बाहेक अन्य गीत बजाउदा भने रोयल्टी तिर्नुपर्ने छैन । यो नियम कडाइका साथ देशभर लागु गरिने र यदि कसैले कर छली गरेको भेटिएमा २ लाख रुपैयाँ जरीवाना साथै अदालती कारवाहि गरिने महानिर्देशक भट्टराईले जानकारी दिए ।