चोभारस्थित सुख्खा बन्दरगाह निर्माणको ९८ प्रतिशत काम सकियो
काठमाडौं, ३२ साउन । काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह निर्माणको काम करिब सकिएको छ । कोरोना महामारीकाबीच हाल आयोजनाको भौतिक संरचना निर्माणको काम ९८ प्रतिशत सकिएको छ । भन्सार, सुरक्षालगायतको काम भने बाँकी छ । अबको तीन महिनापछि बन्दरगाह उद्घाटन गर्ने योजना बनाइएको छ । बन्दरगाह निर्माणका लागि एक अर्ब ४४ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, लागत १२ प्रतिशतले बढेर १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ नेपाल ईन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।
२ सय २० रोपनीमा बन्दरगाह निर्माण भएको हो । निजगढ–काठमाडौं द्रूतमार्ग, भारतसँगको रेलमार्ग, केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाहमा व्यापारिक गतिविधि उल्लेख्य हुने आँकलन गरिएको छ । बन्दरगाह संचालनमा आएसँगै व्यापारीहरुले आफ्नो सामानको भन्सार तिर्न कोलकता, वीरगञ्ज, विराटनगर जानुपर्ने वाध्यताको अन्त्य हुने उनले बताए ।
बन्दरगाहमा ५०० वटा ट्रक र ५०० वटै कन्टेनर पार्किङको सुविधा रहेको छ । यस सुख्खा बन्दरगाहमा ३ वटा ब्लकको गोदाम बनेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । साथै, १ हजार ३ सय वर्गमिटरमा खुला जाँच क्षेत्र रहेको छ । साथै सामान जाँच्ने स्टेसन, लोड–अनलोड, नापतौल र नियन्त्रण कक्ष, पार्किङ तथा सडक निर्माण गरिएको छ ।