Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य हुँदैन : अर्थमन्त्री शर्मा

कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, ४ भदौ । अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने बताएका छन् । मन्त्री शर्माले त्यसका लागि लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘बहुआयामिक गरिबी दरसबभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २ को गरिबी अन्त्य नगरी राष्ट्रको गरिबी अन्त्य हुँदैन । कर्णालीको गरिबी अन्त्य गर्ने कार्यक्रम प्रदेशको कार्यक्रम होइन राष्ट्रिय कार्यक्रम हो । त्यसको लागि लगानी गर्नु बैंकहरुको पनि राष्ट्रिय दायित्व हो ।’ उनले भने ।

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन २०१९ सम्मको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरिबी दर ३९.५ प्रतिशत रहेको छ । यस्तै सुदुरपश्चिम प्रदेशमा २५.५ प्रतिशत र प्रदेश नं. २ मा बहुआयामिक गरिबी दर २४.५ प्रतिशत रहेको छ । गरिबी अन्त्यको सुरुवात कृषि र कृषिजन्य उत्पादन बृद्धिको अभियानबाट गर्नसकिने भन्दै मन्त्री शर्माले ‘किसानको मेलामा गएर ऋण सहायता बाँड्ने र खलोमा गएर असुल गर्ने नीति’ अवलम्बन गर्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेश सरकारले अघि सारेको ‘प्रत्येक घर स्वरोजगार कार्यक्रम’ को सही कार्यान्वयन भएमा पाँचदेखि ७ वर्षभित्र गरिबी अन्त्य हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘प्रत्येक घर स्वरोजगार कार्यक्रम’ मा ऋण लगानी गर्न बैंकहरुलाई आग्रह गर्दै त्यसको लागि चाहिने भौतिक पूर्वाधार, कृषि तथा पशु बीमा, उत्पाादित वस्तुको ढुवानी तथा बजारीकरण, अनुगमन र सहजीकरणको जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिवद्धता व्यक्त गरे । पूर्वमन्त्री शक्ति बस्नेतले देश विकासको लागि र लगानीकर्ताहरुको नाफाको लागि कर्णाली प्रदेश ‘भर्जिन ल्याण्ड’ भएकोले ढुक्क भएर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरे । ठूलो भूगोल र प्रसस्त साधन स्रोत भएको कर्णालीमा गरिएको लगानीको राम्रो प्रतिफल प्राप्त हुने उनले बताए ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ‘प्रत्येक घर स्वरोजगार कार्यक्रम’ गरिबीमा डुबेका त्यहाँका जनतालाई हात समातेर माथि उठाउने कार्यक्रम भएकोले त्यसमा हातेमालो गर्न बैंकहरुलाई आग्रह गरे । सोही मन्त्रालयका सचिव चक्र बहादुर बुढाले ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ को बारेमा प्रस्तुति गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x