५ वर्षमा १ प्रतिशत पनि पुगेन इम्बोस्ड नम्बर प्लेट जडान
काठमाडौं, ८ भदौ । सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म १ प्रतिशत पनि पुग्न सकेको छैन । सरकारले ५ वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य राखेकोमा हालसम्म १९ हजार १२१ सवारीसाधनले मात्रै लिएको तथ्यांक छ, लक्ष्यको ०.७६ प्रतिशत मात्र हो ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेगरी ठेक्का सम्झौता गरेको ५ वर्ष बितिसक्दा यसको प्रगति न्यून भएको हो । लामो समयसम्म कानूनी अवरोधका कारण सो नम्बर प्लेट वितरण अघि बढ्न सकेको थिएन भने चालू आवमा कोभिड संक्रमण बढिरहेकाले यसको गति सुस्त भएको यातायात व्यवस्था विभागले बताएको छ । गत जेठमा यसको अवधि सकिएकाले पुनः साढे दुई वर्षका लागि थप गरिएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए ।
अब नयाँ दर्ता हुने र नवीकरण हुने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको छ । नयाँ खरीद भएका र नवीरकण हुँदा अनिवार्य हुनेछ भने अरू सवारीसाधनले पनि ऐच्छिक रूपमा राख्न पाउनेछन् ।
साढे २ वर्षमा सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि जनशक्ति र उपकरणको क्षमता त्यसअनुसार रहेको विभागले बताएको छ । विभागले गत आवमा सीमित कार्यालयमा मात्रै सेवा दिइएकोमा अबका दिनका प्रदेशअन्तर्गतका यातायात कार्यालयबाट पनि नम्बर प्लेट दिने योजना बनाइएको निर्देशक पौडेलले बताए ।
उपत्यकासँगै बाहिर रहेका विभागअन्तर्गतका सवारी जाँच केन्द्र (भेहिकल फिटनेस सेन्टर) र यातायात व्यवस्था कार्यालयबाट उक्त सेवा दिने योजना बनाइएको छ ।