तेह्रथुम पावरको आईपीओ आजदेखि विक्रीमा, १० कित्तादेखि ६० हजार कित्ताका लागि आवेदन दिन सकिने
काठमाडौं, ९ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री खुला गरेको हो । लगानीकर्ताले आज १० बजेपछि आईपीओमा आवेदन दिन सक्ने छन् । कुल कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
छिटोमा भदौ १३ गतेसम्म यो शेयर विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन परेन भने ढिलोमा भदौ २३ गतेसम्म विक्रीमा रहनेछ । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यो शेयरको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पन आवेदन दिन सकिने व्यवस्था छ ।