पुनर्निर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिने
काठमाडौं, १० भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधवार सम्पन्न प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेका कामलाई धन्यवाद दिँदै पुनर्निर्माणमा बाँकी काम सम्पन्न गर्न हस्तारन्तरण प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो ।
बैठकले प्राधिकरणबाट भएका काममध्ये विपद्सँग सम्बन्धित काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समन्वय अनुुगमन र व्यवस्थापन गर्ने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
यसैगरी शहरी विकास मन्त्रालयले निजी आवास पुनर्निर्माणसँग सम्बन्धित तथा स्वास्थ्य संस्था र सरकारी भवन निर्माणको कामलाई व्यवस्थापन गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको पुनर्निर्माणसँग सम्बन्धित र विश्वविद्यालको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए ।
कानूनले तोकेअनुुसार प्राधिकरणको अवधि आगामी पुस १० गते समाप्त हुँदैछ ।
–––