Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

गत वर्ष निर्यात ४४ प्रतिशत र आयात २८ प्रतिशतले वृद्धि

गत वर्ष निर्यात ४४ प्रतिशत र आयात २८ प्रतिशतले वृद्धि

काठमाडौं, १० भदौ । गत आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । निर्यात वृद्धि भई रु. १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जारी गरेको एक वर्षको तथ्याकले देखाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.१ प्रतिशत, २८.६ प्रतिशत र १९.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, सुन गायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।

व्यापार घाटा २७ प्रतिशतले वृद्धि
आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x