कोभिड कहरकै बीच ४४ प्रतिशतले बढ्यो कम्पनी दर्ता

काठमाडौं, १७ भदौ । नेपालमा डेढ वर्षअघि संक्रामक रूपमा फैलिएको कोभिड महामारीका कारण थलिएको आर्थिक क्षेत्र अझै लयमा फर्किन सकेको छैन । कोरोनाको पहिलो लहरबाट प्रभावित आर्थिक व्यावसायिक क्षेत्रले गति लिन नपाउँदै शुरू भएको दोस्रो लहरका कारण अर्थतन्त्र पुनः शिथिल हुन पुग्यो । तर यो महामारीकै बीच कम्पनी दर्तामा भने उत्साह देखिएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको जेठसम्ममा कम्पनी दर्तामा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.५ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा कम्पनी दर्ता संख्या २५ हजार ४३६ पुगेको छ । अघिल्लो आर्थिक वर्षको जेठमा यो संख्या १७ हजार ५९८ रहेको थियो ।
कोभिड महामारीका कारण अघिल्लो आर्थिक वर्षमा भने कम्पनी दर्तामा ठूलो ह्रास आएको थियो । २०७५÷७६ जेठसम्मा २३ ७८४ वटा कम्पनी दर्ता भएकोमा २०७६÷७७ जेठमा २६ प्रतिशतले घटेर १७ हजार ५९८ वटामा सीमित भएको कार्यालयको तथ्यांकले देखाएको छ ।