एक सातामा विकास बैंकको कर्जा प्रवाह निक्षेप संकलनको दोब्बर
काठमाडौं, २३ भदौ । एक सातामा राष्ट्रिय स्तरको विकास बैंकहरुको कर्जा प्रवाह निक्षेप संकलनको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ । डेभलपमेन्ट बैंकर एसोसिएसनले सार्वजनिक गरेको गत साता (भदौ ११ देखि १८ सम्म)को तथ्यांकअनुसार राष्ट्रियस्तरका विकास बैंकहरूको निक्षेप ४ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।
एक साताअघि निक्षेप संकलन ४ खर्ब १४ अर्ब ७१ करोड रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब ६२ अर्ब ५३ करोड रुपैयाँ थियो । एक सातामा विकास बैंकहरुको निक्षेप ०.४० र कर्जामा ०.९३ प्रतिशतको वृद्धि छ । निक्षेप संकलन १ अर्ब ६६ करोड भएको छ भने कर्जा प्रवाह ३ अर्ब ३७ करोड रुपैयाँ भएको छ।
यस्तै एक सातामा राष्ट्रियस्तरका विकास बैंकहरूको निक्षेप केही मात्रामा बढेको भए पनि क्षेत्रीयस्तरका विकास बैंकहरूको भने घटेको छ । अघिल्लो साता यी विकास बैंकहरुको निक्षेप संकलन ७२ अर्ब ४२ करोड रुपैयाँ रहेको गत शुक्रबारसम्म त्यो रकम घटेर ७२ अर्ब १७ करोड रुपैयाँमा झरेको छ। तर, कर्जा लगानी भने बढेको छ । अघिल्लो साता ६६ अर्ब ८० करोड रुपैयाँ रहेकोमा यो साता ६७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यी बैंकहरुको निक्षेप संकलन ०.३५ प्रतिशत कम छ भने कर्जा प्रवाह ०.५४ प्रतिशतको वृद्धि छ ।