Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

यती एअरलाईन्सको गौरवमय २३ वर्ष पूरा, कल सेन्टरको शुभारम्भ

यती एअरलाईन्सको गौरवमय २३ वर्ष पूरा, कल सेन्टरको शुभारम्भ

काठमाडौं, ५ असोज । यती एअरलाइन्स २४ वर्षमा प्रवेश गरेको छ । २१ सेप्टेम्वर, १९९८ बाट पहिलो उडान शुरु गरेको यतीले सोही दिनलाई बार्षिक उत्सवको रुपमा मनाउने गरेको हो ।

नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एअरलाइन्सले आफ्नो भगिनी संस्था तारा एअरसहित २३ वर्षदेखि नेपाली आकाशमा सेवा प्रदान गर्दै आएको छ । स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले जानकारी दिए ।

२४ वर्षे यात्रासंगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसँग रहेका ५ वटा विमान विक्री गरेको छ । यती एअरलाइन्सले २३ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडान सम्बन्धी जानकारी लिन सकिने र उडान सम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एअरलाइन्सले जनाएको छ ।

एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झट रहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एअरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाईमा पर्न सफल भएको बताए ।

यतीले हाल पाँचवटा एटिआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एअरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x