७५ प्रतिशतले घटे अन्तर्राष्ट्रिय हवाई यात्रु
काठमाडौं, ७ असोज । कोभिड महामारीका कारण समग्र उड्डयन क्षेत्र प्रभावित हुँदा गत आर्थिक वर्षमा नेपालमा अन्तर्राष्ट्रिय हवाई यात्रु अघिल्लो आर्थिक वर्षको तुलनामा ७५ प्रतिशतभन्दा धेरैले घटेका छन् । कोभिड महामारी नियन्त्रणका लागि विभिन्न मुलुकले अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक, यात्रामा गरिएको कडाइ, प्रतिबन्ध तथा कठिनतम मापदण्ड, वैदेशिक रोजगारमा ह्रास, पर्यटकीय क्षेत्रहरू ठप्प रहनु लगायत कारण नेपाल आउने र यहाँबाट बाहिरिने हवाई यात्रु घटेका हुन् ।
त्रिभुवन विमानस्थल कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदनका अनुसार सो अवधिमा नेपाल भित्रने र बाहिरिने कुल हवाई यात्रु ८ लाख ५७ हजार १३८ जना छन् भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो संख्या ३५ लाख ७२ थियो ।
तथ्यांक अनुसार गत आर्थिक वर्षमा उक्त विमानस्थल हुँदै नेपाल भित्रने हवाई यात्रु ४ लाख ८२ हजार ६११ रहेका थिए भने नेपालबाट बाहिरिनेको संख्या ३ लाख ७४ हजार ५०७ रहेको थियो । नेपालबाट बाहिरिने यात्रुमा नेपालीको मात्र संख्या ४ लाख १४ हजार ५५० थियो भने विदेशबाट आउने नेपालीहरू ३ लाख ४ हजार १९९ जना रहेका थिए ।
अघिल्लो वर्ष बाहिरबाट नेपाल आउने हवाई यात्रुको संख्या १७ लाख १८ हजार ५७७ थियो भने बाहिरिनेहरू १७ लाख ८१ ह्जार ४९५ जना रहेको तथ्यांकले देखाएको छ ।