Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

६८३ मेगावाट सुनकोसी–तेस्रोको ईआईएको तयारी शुरू

६८३ मेगावाट सुनकोसी–तेस्रोको ईआईएको तयारी शुरू

काभ्रेपलाञ्चोक, १० असोज । ६८३ मेगावाटको जलाशययुक्त विद्युत् आयोजना सुनकोसी–तेस्रोको वातावरणीय प्रभाव मूल्यांकन (इआईए)को तयारी थालिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले आइतवारदेखि आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार जिल्लामा सार्वजनिक सुनुवाइको कार्यक्रम राखिएको छ ।

काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सरोकारवाला व्यक्ति तथा संस्थालाई आ–आफ्नो राय–सुझाव दिन आग्रह गरिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । कोरोनाको जोखिमका कारण अध्ययनको काम प्रभावित बन्दै वातावरणीय प्रभाव मूल्याङ्कनको काम धकेलिँदै आएको थियो । यसअन्तर्गत स्थानीयस्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ । विभागका अनुसार आयोजनाको प्राविधिकतर्फको अध्ययन सकिएको छ ।

आयोजनाको प्राविधिकतर्फको सर्भे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जीनियरिङ डिजाइनको काम सकिएको विभागका इञ्जीनियर सुवास थपलियाले जानकारी दिएको राससमा उल्लेख छ । परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको हो । सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने÷नहुने निक्र्योल नभएका कारण सरकारले अध्ययनबाहेकमा थप बजेट विनियोजन गरेको थिएन ।

एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोसी–तेस्रोको टिओआर भने विसं २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्भेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के–कस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको जनाइयो । त्यसताका पनि आयोजनाबाट प्रभावित पर्न सक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा संघसंस्थाबाट सुझावसमेत मागिएको थियो ।

यसैबीच, उक्त आयोजनाका लागि सरकारले गत भदौ अन्तिम साता बंगलादेशलाई प्रस्ताव गरेपछि आउँदो डिसेम्बरमा दुवै पक्षबीच आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीअन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप क्षेत्रको भ्रमणको सहमतिसमेत भएको थियो । आयोजनाको प्रक्रिया अघि बढाउन गत भदौ २९ गते नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकले सुनकोसी तेस्रो निर्माण गर्न दिने प्रस्ताव अनुमोदन भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x