सहुलियत दरको १ खर्ब १८ अर्ब पुनर्कर्जा लगानीमा

काठमाडौं, १० असोज । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा साउन मसान्तसम्ममा रू. १ खर्ब १८ अर्ब ४९ करोड लगानीमा रहेको छ । केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

तथ्यांक अनुसार सो अवधिमा १ लाख ११ हजार ४ सय ७१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब ७२ अर्ब १७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४८ हजार ४ सय ९८ ऋणीलाई प्रवाह भएको १ खर्ब १२ अर्ब ७५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ६० हजार ३ सय २२ महिला उद्यमीलाई प्रवाह भएको ५५ अर्ब ७९ करोड कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ६ सय ५१ ऋणीको ३ अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ साउन मसान्तसम्ममा १ अर्ब स्वीकृत भएको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *