शेयरमा सोमबार पनि गिरावट, परिसूचक २६८५ विन्दुमा झर्यो

काठमाडौं, ११ असोज । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ। सोमबार नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५ को विन्दुमा झरेको छ । हिजो (आइतबार) पनि नेप्सेमा ६१ अंकले घटेको थियो ।
सोमबार कारोबारमा आएका १३ वटै समूहको उपसूचक घटेपछि समग्रमा परिसूचक घटेको हो ।
परिसूचकसँगै हिजोको तुलनामा कारोबार पनि घटेको छ । २२७ कम्पनीको ५ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। आइतबार ६ अर्ब ५० करोड बढीको कारोबार भएको थियो ।
सबैभन्दा धेरै शेयर कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ। यो कम्पनीको १५ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै मनकामना स्मार्ट लघुवित्त र मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सोमबार सबैभन्दा धेरै कमाएका छन् । यी दुबै कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि छ । गुमाउने कम्पनीहरुको सूचीमा भने गुडविल फाइनान्स कम्पनी अग्रस्थानमा छ । यो कम्पनीको शेयर मूल्य ७.८३ प्रतिशतले घटेको छ ।