Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

दशैंको मुखमा चिनियाँ नाकामै रोकिए सयौं कन्टेनर सामान

दशैंको मुखमा चिनियाँ नाकामै रोकिए सयौं कन्टेनर सामान

काठमाडौं, १३ असोज । दशैं, तिहार जस्ता ठूला चाडपर्व नकिजिँदै गए पनि नेपाली व्यापारीहरूले चीनबाट आयात गरेका सयौं कन्टेनर सामान आउन सकेका छैनन् । चिनियाँ प्रशासनको ढिलाइका कारण अत्यावश्यक साथै चाडपर्व लक्षित लत्ताकपडा, जुत्ता, विद्युतीय लगायत सामान सीमावर्ती क्षेत्रमै रोकिएका हुन् ।

यति बेला चीनसँगका तातोपानी र रसुवागढी नाकामा गरी नेपाल आउनुपर्ने ७०० भन्दा बढी कन्टेनर सामान रोकिएको व्यापारीहरूले बताएका छन्, जसको मूल्य १० अर्ब रुपैयाँभन्दा बढी रहेको उनीहरूको भनाइ छ ।

हाल चीनतर्फका नाकाबाट दैनिक मुश्किलले १० देशि १२ वटा कन्टेनर मात्र नेपाल भित्रने गरेका छन् । यसले चाडपर्व लक्षित सामान समयमै नआउँदा व्यवसायी मारमा परेका छन् भने उपभोक्ताले समेत आफ्नो रुचि अनुसाराका सामान बजारमा पाउन सकेका छैनन् । सामान नआउँदा हाल व्यवसायीले पहिलेकै स्टक सामान नै बेच्नुपरेको छ ।

यसैगरी पछिल्लो समय चिनियाँ ट्रान्सपोर्ट कम्पनीले प्रतिकण्टेनर एकदेखि डेढ लाख रुपैयाँसम्म भाडा समेत बढाएको हिमालय सीमापार व्याणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले बताए । ‘एक त सहज रूपमा सामान नै आउन सकेको छैन,’ उनले भने, ‘त्यसमाथि चर्को रूपमा भाडा बढाउँदा स्वदेशी व्यापारीहरू प्रत्यक्ष मारमा परेका छन् ।

नाकाबाट सामान आयात सहज बनाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा उनले जोड दिए । पछिल्लो समय नेपाल र चिनियाँ अधिकारीहरूबीच भएको छफलफलमा दैनिक २०–२५ कन्टेनर गाडी छाड्ने सहमति भए पनि यसको कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । सामान लिन नेपाल तर्फबाट पुगेका सयौं अहिले यत्तिकै बस्तुपरेको अवस्था छ ।

कोभिडको कारण देखाउँदै चीनले गतवर्षको दशैं, तिहारको समयमा पनि सामान आयातमा कडाइ गरेको थियो । सोही अवस्था अहिले पनि रहेको छ । चीनबाट न्यून मात्रामा सामान आयात भइरहे पनि नेपालतर्फबाट हुने निर्यात झनै ठप्पप्रायः छ । दैनिक एक–दुईवटा गाडीमा मात्र वस्तु निर्यात भइरहेको बताइएको छ ।

चीनसँगका उक्त प्रमुख नाकाहरूबाट आयात निर्यात प्रभावित हुँदा यसको प्रत्यक्ष असर सरकारको राजस्व आम्दानीमा समेत परेको छ । व्यापार सहज नहुँदा भन्सार प्रशासनले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको तथ्यांकहरूले नै देखाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x