बीमाको पहुँच विस्तारमा झीनो वृद्धि
काठमाडौं, १४ असोज । नेपालमा बीमाको पहुँच वृद्धि सुस्त देखिएको छ । बीमा समितिका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा बीमाको पहुँच जनसंख्याको २५.५९ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.२२ प्रतिशत मात्र बढी हो ।
गत आर्थिक वर्षको भदौ मसान्तमा बीमाको पहुँचमा रहेको जनसंख्या २२.३७ प्रतिशत थियो ।
समितिका अनुसार भदौ मसान्तसम्ममा बीमा कम्पनीहरूको बीमाशुल्क संकलन गतवर्षको सोही अवधिको भन्दा ३४ प्रतिशतले बढेको छ । सो अवधिमा कम्पनीहरूले ३४ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत आवको भदौ मसान्तसम्ममा यो २५ अर्ब ७३ करोड रहेको थियो । कुल बीमा शुल्कमा निर्जीवन बीमा कम्पनीको ६ अर्ब ३९ करोड र जीवन बीमा कम्पनीको २८ अर्ब १३ करोड रहेको छ ।