चिनियाँ विद्युतीय सवारी आयात बढ्दै, तीन दिनमै भित्रियो १०० वटा कार
रसुवा, १६ असोज । पछिल्लो समय रसुवागढी नाकाबाट चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयात बढ्न थालेको छ । नेपाली व्यापारी तथा व्यवसायीले उक्त नाबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका हुन् ।
पछिल्लो तीन दिनको अन्तरालमा मात्रै १०० वटा विद्युतीय कार नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयले बताएको छ । आयातित उक्त सवारीसाधन भन्सार प्रक्रिया पूरा गरी क्रमिक रूपले काठमाडौं लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताएका छन् ।
आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ । कारबाट भन्सार शुल्कबापत रू. १० करोड ९८ लाखभन्दा बढी रकम राजस्व असुली भएको छ । धुँवा तथा आवाजरहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने बताइएको छ ।
रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । गत आर्थिक वर्षदेखि हालसम्म करिब ८०० साना ठूला सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार कार्यालयले बताएको छ ।