मानव अधिकार शिक्षा बाँड्दै गुणराज
काठमाडौं, १५ असोज । पूर्वजको थलो काभ्रे भए पनि हाल काठमाडौंको पुरानो बानेश्वरमा बस्दै आएका गुणराज प्याकुरेल सन् २००७ मा यूके नगएको भए शायद अहिले मानव अधिकारको शिक्षामा सक्रिय हुँदैन थिए । १३ वर्षको उमेरदेखि नै स्काउटमा आबद्ध उनी स्काउटको विश्व ज्याम्वोरीमा बेलायत पुगेपछि त्यहीँ मानव अधिकार शिक्षाको विषयमा थाहा पाए ।
बेलायतबाट नेपाल फर्कनासाथ उनले आफ्ना नजिकका केही साथीहरूसँग सहकार्य गर्दै युथ फोरम ह्युमन राइट्स नामक संस्था स्थापना गरे । उनी अहिले यो संस्थाको नेपाल अध्यक्ष छन् । यो संस्था २०११ सालदेखि नेपालमा सक्रिय छ । यसको हाल ३६ वटा जिल्लामा शाखा विस्तार भइसकेको छ । यो शाखा पूर्वको झापादेखि सिन्धुपाल्चोकसम्म जोडिएको छ ।
‘हामी सबै उमेरका व्यक्तिहरुलाई मानव अधिकार शिक्षा दिइरहेका छौं । वार्षिक रुपमा झण्डै १२ हजार व्यक्तिहरु लाई प्रशिक्षण गरिरहेका छौं,’ उनी भन्छन्, ‘हामी उनीहरुलाई मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रका ३० वटा बुँदाबारे प्रशिक्षण दिन्छौं ।’
उनका अनुसार विद्यालय, कलेज र सशस्त्र प्रहरी बलका जवानहरुलाई मानवअधिकार सम्बन्धी कानूनबारे प्रशिक्षण दिइन्छ । यसमा अडियो र भिजुअल प्रविधि पनि अपनाइन्छ । मानव अधिकार क्षेत्रमा आउनु अघि उनले पाँच वर्ष एनआइडीसी क्यापिटल मार्केटमा जागिर खाए । उनी केही फरक काम गर्न चाहन्थे, जसकारण बैंकको जागिर छोडे ।
गुणराजका अनुसार उनको संस्थामा तीनवटा समूह छ । जसले आफ्नो क्षेत्रमा मानवअधिकार शिक्षाको विषयमा काम गरिरहेको छ । उनले मानव अधिकार शिक्षाकै विषयमा काम गरेर बेल्जियम, स्वीट्जरल्याण्ड, बंगलादेश, भारत, श्रीलंका, अमेरिका र माल्दिभ्सलगायतका मुलुक घुमिसकेका छन् । उनको संस्थाले राष्ट्रिय मानव अधिकार आयोगसँग सहकार्य गर्दै काम गरिरहेको छ । प्याकुरेल लाई मानवअधिकार र दैवीप्रकोप मा कार्य गरेकोमा २०१४, २०१५ र २०१७ मा युथ फोरम ह्युमन राइट्स ईन्टरनेश्नलले हिरो एवार्ड प्रदान गरेको छ भने भारतको युनिभर्सल तामिल युनिभर्सिटीले विधावारिधि प्रदान गरेको छ ।