लयमा फर्किंदै पुष्प व्यवसाय
काठमाडौं, ७ कात्तिक । कोभिड महामारी तुलनात्मक रूपमा कम हुँदै गएसँगै पुष्प व्यवसाय पनि लयमा फर्किन थालेको छ । कोरोना संक्रमण उच्च रहेका बेला कारोबार घटेर २०–३० प्रतिशतमा सीमित रहेको व्यवसाय अहिले ७० प्रतिशत पुगेकोे फ्लोरिकञ्चर एशोसिएशन नेपालले बताएको छ ।
नेपालमा सामान्य अवस्थामा दैनिक १ करोड रुपैयाँ बराबरको फुल तथा मालाको कारोबार हुने गरेकोमा हाल ७० लाख रुपैयाँ बराबरको भइरहेको एशोसिएशनले बताएको छ । कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्क्रमण पनि विस्तारै न्यून हुँदै गएकाले व्यवसायले गति लिन थालेको हो ।
कोरोना महामारीको एकपछि अर्काे लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय तँग्रिन थालेको छ । पछिल्ला वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थाले पनि यस वर्ष भने उत्पादनमा कमी हुने अनुमान छ ।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।