Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

इप्पानले असोजमा अन्तर्राष्ट्रिय स्तरको ‘पावर समिट २०२५’ गर्ने

इप्पानले असोजमा अन्तर्राष्ट्रिय स्तरको ‘पावर समिट २०२५’ गर्ने

काठमाडौं, १९ असार । आगामी असोजमा ‘पावर समिट २०२५’ हुने भएको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आयोजनामा अन्तर्राष्ट्रिय स्तरको पावर समिट आयोजना हुँदै आएको छ ।

इप्पानले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी गराएको हो । नेपाल सरकारले आगामी १० वर्षभित्र थप २५ हजार मेगावाट निर्माण गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि सारेको परिप्रेक्ष्यमा आगामी असोजमा ऊर्जा क्षेत्रमा अन्तर्राष्टिय स्तरको कार्यक्रमका रूपमा परिचित पावर समिट २०२५ आयोजना गर्न लागेको जनाएको छ ।

इप्पानका अनुसार नेपालको कुल ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी छ ।

पावर समिट आगामी असोज १ र २ मा काठमाडौंमा हुनेछ । इप्पानका अनुसार नेपालको ऊर्जा उत्पादनको १ सय १४ वर्षको इतिहासमा ३६ सय मेगावाट मात्र उत्पादन क्षमता पुगेको सन्दर्भमा सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन पुर्‍याउने सरकारको लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व हो भन्ने महसुस गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारीका साथै विभिन्न राष्ट्रिय अर्न्तराष्ट्रिय संघसंस्था, निकाय र कम्पनीको सहभागितामा समिट आयोजना गर्न लागिएको हो । यो पावर समिट नवौं हो । यसअघि सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ मा आयोजना गरिएको थियो ।

नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा व्यापार गर्न/गराउन ३० भन्दा धेरै देशका लगानीकर्ता, कूटनीतिक तथा विकास साझेदार नियोगका अधिकारी, सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्र, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत सरोकारवाला निकायका प्रतिनिधि, विज्ञ, विशेषज्ञ लगायत एउटै छानामुनि भेला हुने भएका छन् ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, सरकारी संघसंस्थाका उच्च अधिकारी, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रका सरोकारवाला गरी विगतका सम्मेलनको जस्तै १ हजारभन्दा बढीको सहभागिता रहने अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *