मोबाइल तथा इन्टरनेट बैंकिङमा उत्साहजनक वृद्धि

काठमाडौं, ७ कात्तिक । कोभिड महामारीका कारण अधिकांश क्षेत्र प्रभावित रहे । त्यसमध्ये पनि आर्थिक व्यावसायिक क्षेत्र बढी धराशयी भए । यद्यपि यससँगै बैंक तथा वित्तीय क्षेत्रमा भने सकारात्मक संकेत पनि देखिएको छ । भौतिक उपस्थितिमा गरिने कारोबारले कोभिडका बेला सम्भाव्य संक्रमणको जोखिम बढी हुने भएपछि ग्राहकहरू मोबाइल तथा इन्टरनेट बैंैकिङमा आकर्षित भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गतवर्षको भदौ मसान्तको तुलनामा यस वर्षको सोही अवधिमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ता औसतमा १५.८९ प्रतिशतले बढेका छन् । सो अवधिमा मोबाइल बैंकिङका ग्राहक मात्रै २०.६५ प्रतिशतले बढेको पाइएको छ ।

गतवर्षको भदौमा मोबाइल बैंकिङका प्रयोगकर्ता १ करोड १३ लाख ६ हजार ७९७ जना रहेका थिए, जुन यस वर्षको भदौ मसान्तसम्ममा १ करोड ४१ लाख ९४ हजार ८३९ पुगेका छन् ।

यस्तै इन्टरनेट बैंकिङका प्रयोगकर्ता पनि एक वर्षमा ११.१३ प्रतिशतले बढेको पाइएको छ । गतवर्षको भदौ मसान्तमा इन्टरनेट बैंकिङका प्रयोगकर्ता १० लाख ३१ हजार २२७ जना रहेकोमा यस वर्षको सोही अवधिमा बढेर ११ लाख ६० हजार ३२१ पुगेको केन्द्रीय बैंकको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *