Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आन्तरिक कर्जा प्रवाह र निक्षेप संकलनमा झीनो वृद्धि

आन्तरिक कर्जा प्रवाह र निक्षेप संकलनमा झीनो वृद्धि

काठमाडौं, १० कात्तिक । चालू आर्थिक वर्ष २०७८÷७९ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा प्रवाह र निक्षेप संकलनमा झीनो वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ भदौ मसान्तमा यस्तो कर्जा ३१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ भदौ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३२.५ प्रतिशतले बढेको छ ।

यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१.७ प्रतिशतले बढेको छ ।

गत भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपहरूको अंश क्रमशः ७.९ प्रतिशत, ३५.० प्रतिशत र ४९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.५ प्रतिशत, ३२.६ प्रतिशत र ५०.९ प्रतिशत रहेको थियो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४०.५ प्रतिशत रहेको छ । २०७७ भदौमसान्तमा यस्तो निक्षेपको अंश ४३.२ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x