Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

तरलता अभाव चर्किंदा कर्जा प्रवाह ठप्पप्रायः, थप २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

तरलता अभाव चर्किंदा कर्जा प्रवाह ठप्पप्रायः, थप २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, ११ कात्तिक । बैंकिङ प्रणालीमा तरलता अभाव यतिबेला संकटकै रूपमा देखिएको छ । एक महिनाअघिदेखि नै कसिलो बन्दै गएको तरलता व्यवस्थापनमा समस्या भएपछि बैंकरूबाट कर्जा प्रवाह ठप्पप्रायः छ । निक्षेपको तुलनामा कयौं गुणा बढी कर्जा माग हुन थालेपछि बैंकहरू ऋण दिनै नसक्ने अवस्थामा पुगेका हुन् ।

लगानीयोग्य रकमको चर्को अभाव कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (बिहीवार) थप २० अर्बको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।

तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेशियो) ९० प्रतिशत कायम गर्नुपर्ने अवस्था व्यवस्थापनमा समेत बैंकलाई अप्ठेरो परेको देखिन्छ ।

बैंकिङ प्रणालीमा तरलता असहज बन्दै गएपछि राष्ट्र बैंकले यही कात्तिक ३ गते पनि बैंकले १० अर्ब बराबरको ७ दिन अवधिको रिपो जारी गरेको थियो ।
तरलताको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुबिधा जस्ता उपकरणको प्रयोग गर्दछन् । केन्द्रीय बैंकको तथ्यांकानुसार हाल अन्तरबैंक सापटीको दर चार दशमलव ९६ पुगेको छ ।

बुधबारसम्म बैंक वित्तीय संस्थाले १० खर्ब ९१ अर्ब ६४ करोड ५० लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरी रहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x