Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

पुरा हुँदैछ मेलम्ची सपना

पुरा हुँदैछ मेलम्ची सपना

काठमाडौं, २९ चैत्र । पूर्वाधार आयोजनाहरुमा सबैभन्दा लामो २६ किलोमिटर सुरुङ निर्माण कार्य सम्पन्न भएपछि उपत्यकाबासीहरुको मेलम्चीको सपना चाँडै पुरा हुने भएको छ । अन्तिम चरणमा निर्माण भइरहेको आयोजनाको सिन्धु—ग्याल्थोम खण्डको सुरुङ छिचोलिने (ब्रेकथ्रु) को चरणमा उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर तथा दातृ निकाय एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया महानिर्देशक हुन किम उपस्थित भएका थिए ।
२६ किलोमिटर लामो सुरुङ केही महिनामा पूर्ण रुपमा सञ्चालनमा आउने छ र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरण गर्ने गरी काठमाडौं उपत्यकामा आपूर्तिका लागि मेलम्ची नदीबाट पानी ल्याउने छ । त्यस अवसरमा बोल्दै महानिर्देश्क किमले भने, ‘“सुरुङ खन्ने काम पुरा हुनु आयोजनाको इतिहासमा ज्यादै महत्वको कोसेढुङ्गा हो र यो वास्तवमै आयोजनाको अग्रगमनका लागि ठुलो छलाङ पनि हो, जसले चाँडै नै काठमाडौं उपत्यकाका बासिन्दाले व्यहोरिरहेको खानेपानीको समस्या कम गर्न सहयोग गर्नेछ ।’
किमले सरकारको दृढ प्रतिबद्धताले मेलम्ची खानेपानी आयोजनालाई २०७२ को भूकम्प र त्यसैको नतिजास्वरुप सामग्रीको अभावलगायत विगतका असङ्ख्य चुनौती पार लगाउन र यो उल्लेख्य चरणमा आउन समर्थ बनाएकोमा प्रशंसा पनि गरे ।
मेलम्ची खानेपानी आयोजनाले करिब १३ लाख सहरी बासिन्दा (अर्थात् १५८,५४९ परिवारलाई) अरु बढी विश्वसनीय र उच्च गुणस्तरीय खानेपानी आपूर्ति सहितका फाइदा दिनेछ । काठमाडौं उपत्यका खानेपानी लिमिटिडेको अहिलेको खानेपानी आपूर्ति सरदरमा प्रतिदिन करिब १० करोड लिटर रहेको छ, जसमा करिब ४० प्रतिशत चुहावटबाट खेर जाने गरेको अनुमान गरिएको छ । सन् २०१८ को अन्त्यसम्म काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपभोक्तासमक्ष वितरणका लागि प्रतिदिन थप १७ करोड लिटर खानेपानी उपलब्ध हुनेछ । नयाँ प्रणाली सञ्चालनमा आएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपभोक्ताका लागि दैनिक कम्तीमा २–४ घण्टा खानेपानी आपूर्ति हुनेछ ।


‘यस्तो राष्ट्रिय महत्वको आयोजनाको हिस्सेदार बन्न पाउँदा एडिबी गौरवान्वित छ’, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक मुख्तोर हामुद्खानोभले भने । उनले नेपालको सहरी खानेपानी क्षेत्रमा सरकारले गरेको सुधारको प्रशंशा पनि गर्नुभयो र सन् २०१८ मा काठमाडौंबासीले सुधारिएको खानेपानी सेवाको उपभोग गर्न सकून भनेर बाँकी काम पुरा गर्न ध्यान दिनका लागि संलग्न सबैलाई आग्रह गरेका छन् ।
३५५.४ मिलियन अमेरिकी डलरको मेलम्ची खानेपानी आयोजनाका लागि एडिबीले कुल १४५ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको छ र सुरुङका साथै २९ किलोमिटर पहुँचमार्ग निर्माणका लागि सन् २००० देखि सरकारका साथ काम गरिरहेको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजलको खानेपानी प्रशोधन प्लान्टको केही हिस्सामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी रहेको छ ।
यसैसँग सम्बन्धित अर्को आयोजनामा एडिबीले सुन्दरीजल खानेपानी प्रशोधन प्लान्टको विस्तार गर्न, वितरण प्रणालीको आधुनिकीकरण गर्न, विद्यमान पूर्वाधारको पुनस्र्थापना गर्न र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सुदृढीकरण गर्न काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना मार्फत नेपाललाई १७० मिलियन अमेरिकी डलर प्रदान गरेको छ जसले गर्दा काठमाडौं उपत्यकाबासीले नयाँ सुरुङमार्फत लाभ प्राप्त गर्न सकून् र खर्चले धान्ने तथा विश्वसनीय रुपमा खानेपानी पाउन सकून् । एडिबीबाट ८० मिलियन अमेरिकी डलर ऋण लगानी गरिएको काठमाडौं उपत्यका ढल व्यवस्थापन आयोजना मार्फत ढल प्रशोधन प्लान्ट निर्माण गर्ने र ढलको सञ्जालको सुधार गर्ने लक्ष्य राखिएको छ ।
सरकारले जुलाईको सुरुसम्म सबै काम सम्पन्न गर्ने र सुरुङको परीक्षण गर्ने योजना गरिरहेको छ । यसले मेलम्ची नदीको पानी सुन्दरीजल खानेपानी प्रशोधन प्लान्टमा जुलाईमा पठाउन र काठमाडौं उपत्यकामा नयाँ प्रसारण र वितरण प्रणालीको परीक्षण अगस्टमा सुरु गर्न सम्भव बनाउने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x