सरकारको पूँजीगत खर्च निराशाजनक

काठमाडौं, २४ कात्तिक । विगत वर्षमा जस्तै विकास लक्षित पूँजीगत खर्च नहुने प्रवृत्तिक यसपटक पनि दोहोरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले मासिक पूँजीगत खर्च १० प्रतिशतले गर्न विषयगत मन्त्रालयहरूलाई निर्देशन दिए पनि करिब ४ महिनाको खर्च प्रगति हेर्दा निराशजनक देखिन्छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको हालसम्म (मंगलवार)सम्ममा पूँजीगत खर्च ५ प्रतिशत समेत पुग्न सकेको छैन । यस अवधिमा पूँजीगत खर्च ४.५७ प्रतिशत मात्र रहनुले वार्षिक पूँजीगत खर्चको लक्ष्य प्राप्ति मुश्किल हुने देखिएको छ ।
सो अवधिमा सरकारको चालू खर्च भने २२ प्रतिशत रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १७.५५ प्रतिशत प्रगति भएको महालेखाको तथ्यांक छ ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत चालूतर्फ १० खर्ब ३ अर्ब ७४ करोड, पूँजीगततर्फ ४ खर्ब ३९ अर्ब ६५ करोड र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको छ ।