आइपीओ निष्कासनका लागि १४ जलविद्युत् कम्पनी अनुमति प्रक्रियामा
काठमाडौं, २९ कात्तिक । धितोपत्र बजारमा एक दर्जनभन्दा बढी जलविद्युत् कम्पनीले सर्वसाधारण शेयर (आईपीओ) निष्कासनका लागि आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डको पछिल्लो तथ्यांक अनुसार आईपीओ निष्कासनका लागि अनुमति प्रक्रियामा रहेका जलविद्युत् कम्पनीहरू १४ वटा रहेका छन् ।
अनुमतिका लागि आवेदन मागेका कम्पनीहरूमा बोर्डको प्रारम्भिक अध्ययनको क्रममा ६ वटा कम्पनी रहेका छन्, जसमा सयपत्री हाइड्रोपावर लि, मोलुङ हाइड्रोपावर कम्पनी, थ्रीस्टार हाइड्रोपावर कम्पनी, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लि, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र मन्दाकिनी हाइड्रोपावर लिमिटेड रहेका छन् । यी सबै कम्पनीले स्थानीय र अन्य सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेका हुन् ।
यसैगरी बोर्डले प्रारम्भिक अध्ययन गरेर सहजीकरणका लागि कमेन्ट पठाएका जलविद्युत् कम्पनीहरूमा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र रिभर फल्स पावर कम्पनी रहेका छन् । यस्तै सम्बन्धित कम्पनीबाट रिप्लाई आएर बोर्डको अध्ययनको चरणमा रहेका कम्पनीहरूमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन हाइड्रोपावर लि, बलेफी हाइड्रोपावर कम्पनी, ग्रीन भेन्चर्स लि र दोर्दीखोला जलविद्युत् कम्पनी रहेका छन् । बोर्डबाट अनुमति पाउनेबित्तिकै यी कम्पनीहरूले आईपीओ निष्कासन गर्नेछन् ।