विद्युत् खपत बढाउन प्राधिकरण केन्द्रित, नयाँ माग आउनेबित्तिकै स्वीकृत गरिने
काठमाडौं, ५ मंसिर । विद्युत्को खपत बढाउने उद्देश्यले प्राधिकरणले माग गरेको बढीमा तीन दिनभित्रै सबै प्रकारको सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । नयाँ लोड स्वीकृतिमा ढिलाइ भएको भन्ने गुनासो आएपछि त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चासो राखेकी थिइन् । प्राधिकरणको सञ्चालक समितिको बैठकले माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको बताइएको छ ।
कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ । प्राधिकरणका अनुसार थ्री फेज लाइनतर्फ ४०० भोल्टको लोड स्वीकृति तथा जडानका लागि पनि अधिकतम १० दिनभित्र अनुमति दिनुपर्ने व्यवस्था गरिएको छ । हाल कायम रहेको संरचनाबाट दिन सकिने भए सात दिनभित्र र टिओडी वा स्मार्ट मिटर लिने ग्राहकका हकमा भए १० दिनभित्र लोड स्वीकृत गरी जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
हाल कायम रहेको संरचना विस्तार वा स्तरोन्नति गर्नुपर्ने भए आवश्यक प्रक्रिया अवलम्बन गरी तुरुन्त लाइन जोड्ने प्रबन्ध गर्नुपर्नेछ । मौजुदा वितरण संरचनामा ग्राहक स्वयंले विस्तार वा स्तरोन्नति गर्नुपर्ने भए आवश्यक प्रक्रिया मिलाएर तीन दिनभित्र काम सम्पन्न गर्नुपर्नेछ ।
यस्तै ११ वा ३३ केभी क्षमताको लाइनमार्फत थप बिजुली दिनुपर्ने भए हाल कायम भएको संरचनाबाट बढीमा १० दिनभित्र आवश्यक काम गरिसक्न निर्देशन दिइएको छ । यस्तै जिआइएस गर्नु नपर्ने लोडका लागि प्रादेशिक प्रमुखले आवश्यक प्रक्रिया मिलाएर बढीमा तीनभित्र लोड स्वीकृति दिनुपर्ने व्यवस्था गरिएको छ ।
जिआइएस गर्नुपर्ने भए त्यसका लागि प्रक्रिया पूरा गरी दस्तुर बुझाएको मितिले तीन दिनभित्र सबै काम सम्पन्न गर्नुपर्ने निर्देशन दिइएको छ । प्राधिकरकणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले बिजुलीको खपत बढाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।
थ्री फेज लाइनको स्वीकृतिका लागि लामो समय लाग्ने, वितरण केन्द्रका कर्मचारीले अनेकन व्यवधान गर्नेलगायतका गुनासा ग्राहकबाट आएपछि प्राधिकरणले समय नै तोकेर आवश्यक निर्देशन दिएको छ । यसो गर्दासमेत काम हुन नसके ग्राहकले वितरण तथा ग्राहक सेवा निर्देशनालयमा प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन् ।
पछिल्लो दिनमा झण्डै २०० मेगावाट र रातको समयमा ६०० मेगावाट बराबरको बिजुली खेर गए पनि खपत बढाउन हरसम्भव सबै उपाय अवलम्बन गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुुलमान घिसिङले उद्योग प्रतिष्ठानलाई आवश्यक मात्रामा बिजुली उपलब्ध गराउने बताइसक्नुभएको छ । हालै मात्र चिनियाँ लगानीको होङ्सी सिमेन्ट उद्योगमा ३० मेगावाट बिजुली जोडिएको छ । यस्तै सो उद्योगलाई थप ५० मेगावाट बिजुली उपलब्ध गराइने भएको छ ।