नेपाल एयरलाइन्सलाई खतराजन्य पदार्थ ओसारपसारमा अनुमति

काठमाडौँ, २१ मङ्सिर । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० लाई खतराजन्य पदार्थ ९डेन्जरस गुड्स० ओसारपसार अनुमति पाएको छ ।
निगमको ६३ वर्षे इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवानीका लागि अनुमति पत्र प्रदान गरेको हो । निगमले यसअघि अस्थायीरूपमा हरेक तीन महिनाका लागि अनुमति लिएर खतराजन्य पदार्थ ओसार पसार गर्दै आएकामा अब भने स्थायीरूपमा अनुमति पाएको छ ।
निगमको वाइड बडी ए३३० जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकामा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गतका विभिन्न औषधिजन्य र विद्युतीय सामानलगायतका सामानहरुको ओसारपसारमा सहजता हुनेछ भने उक्त विमानको उच्चतम सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने निगमले विश्वास लिएको छ ।
उक्त अनुमति पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित एक कार्यक्रमका बीच पर्यटनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हस्तान्तरण गरे । योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थहरु ल्याउन नेपाल एयरलाइन्सले सहजरूपमा ढुवानी गर्न सक्नेछ ।