कोभिडको ओमिक्रोन भेरियन्ट देखिएसँगै सतर्कता बढाइँदै

काठमाडौँ, २१ मङ्सिर । नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएसँगै उच्च सतर्कता अपनाइएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको थियो ।
नेपालमा ओमिक्रोन भेरियन्ट देखिएसँगै निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङगको कार्यलाई थप प्रभावकारी बनाइएको स्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न प्रयास जारी राखेको छ । नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेकोे छ ।
यस्तै खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाका भई प्रवेश गर्ने पूर्णमात्रा खोप नलगाएका र शङ्कास्पद सबै यात्रुको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ल। एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाको नमूना सङकलन गरी पिसिआर गर्ने र शङ्कास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको छ ।
यस्तै विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमूनाको थप परीक्षण गर्ने गरिएको उनले बताए । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन फैलिन नदिन दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्बे, नामिबीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णयसमेत गरेको छ ।