Shangrila

मोतीपुर सबस्टेशन सञ्चालनमा, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

बुटवल, २८ मंसिर । नेपाल विद्युत् प्राधिकरणले कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२–३३–११ केभी क्षमताको मोतीपुर सबस्टेशन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिएको छ ।

सबस्टेशनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो । सबस्टेशनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि चार वटा फिडर निकालिएको छ । यसमध्ये तीन वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ ।

मोतीपुर सबस्टेशनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत् आपूर्तिका लागि क्रमशः ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत् आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्पझ्याप्प बत्ती जानेलगायत समस्या थियो । अब मोतीपुर सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक चुहावट पनि घट्ने छ । सालझण्डीमा ३३–११ केभी क्षमताको सबस्टेशन निर्माणाधीन छ । सबस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युन् आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुनेछ ।

बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेशन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२–३३–११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ । सन्धिखर्क सबस्टेशन आगामी १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *