Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

‘डिजिटल बागमती’ अवधारणा अगाडि बढाइँदै

‘डिजिटल बागमती’ अवधारणा अगाडि बढाइँदै

काठमाडौं, ७ पुस । सूचना प्रविधिको प्रयोगमा बढोत्तरी गरेर नागरिकलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउन बागमती प्रदेश सरकारले योजनाबद्ध पहल गर्ने भएको छ ।

इन्टरनेटको विस्तार, सूचना प्रविधिमा भएको विकास तथा नागरिकमा आएको सचेतना एकातिर रहने तर सरकारी काम कारबाही भने पुरानै प्रवृत्तिमा चल्ने अवस्थामा सुधारका लागि प्रदेश सरकारले प्रयत्न गर्न लागेको हो । सङ्घीय राजधानीसमेत यसै प्रदेशमा रहेकाले नागरिकले सहज रुपमा सेवा पाउने वातावरण बनाउनु महत्वपूर्ण रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रुद्रसिंह तामाङ बताएका छन् । सञ्चार रजिष्ट्रारको कार्यालयले मंगलवार यहाँ आयोजना गरेको ‘सूचना तथा सञ्चार प्रविधिको प्रवद्र्धनमा बागमती प्रदेशको भूमिका सरोकारवालासँगको छलफलमा’ सचिव तामाङले प्रदेशवासीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यका साथ आफूहरुले तयारी गरिरहेको बताए । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाका साथ मन्त्रालयले योजना तयार पार्ने र त्यसलाई चरणबद्ध रुपमा लागू गरेर नागरिकलाई सहज सेवा प्रदान गरिने उनले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनालले राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले प्रविधिको प्रयोगका सम्बन्धमा रहेको बुझाइका दायरालाई नै विस्तार गर्नुपर्ने बताए । नागरिकलाई सेवा दिने भन्दा पनि काम गर्न खोज्नेलाई अल्झाउने प्रवृत्तिका कारण समस्या खडा भएको उनको भनाइ छ ।

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले नागरिकले सहज रुपमा सेवा पाउने गरी सूचना र प्रविधिको क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताइन् । अन्य सामान्य काम कारबाही गर्न बजेट उपलब्ध हुने भए पनि सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न सधैँ बजेटको अभाव देखाउने प्रवृत्तिबाट मुक्त हुनुपर्ने उनको भनाइ छ ।

सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि वातावरण तयार गर्ने र सरकारी निकायको ध्यानाकर्षण गराउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । डिजिटल बागमती बनाउन सबैको साथ र सहयोग जरुरी रहेको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x