नेपाली सिमेन्ट कम्पनीलाई कडाई
काठमाडौं, ९ पुस । नेपाल सरकारले नेपाली सिमेन्टको गुणस्तरमा कडाई गरेपछि सिमेन्ट कम्पनीलाई प्रतिस्पर्धामा उत्रनु परेको छ ।
नेपाल गुणस्तर चिन्ह प्रदान गर्ने नेपाल गुणस्तर तथा नापतौल विभागबाट अहिलेसम्म १४ सिमेन्ट उद्योगले गुणस्तर लिएका छन् । नेपालमा हाल ५५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले धेरै उद्योगले सुधार गर्नुपर्ने देखिएको बताए । उनले उत्पादन बढेपनि गुणस्तरका लागि मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । त्यसैले गुणस्तरलाई कडाई गरेको महानिर्देशक पुडासैनीको दाबी छ ।
सिमेन्ट उद्योगले आफ्नो सिमेन्टको गुणस्तर देखाउन चाहेमा परीक्षण गराएर यो चिन्ह लिन आवश्यक रहेको उपभोक्ताको भनाई छ ।
सिमेन्टको गुणस्तर नछुट्याँदा सबै एउटै हुने भएकाले पनि प्रतिस्पर्धामा उत्रनुपर्ने अर्थजानकार नवराज गौतम बताउँछन् ।
केही वर्ष अघिसम्म भारतबाट ठूलो परीणाममा सिमेन्ट र यसको कच्चा पदार्थ क्लिंकर आयात हुन्थ्यो । अहिले त्यो आयात भने स्वात्तै घटेको छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा भारत १९ करोड ६० लाख रुपैयाँ बराबरको क्लिंकर आयात भएको छ । त्यस्तै, १३ करोड ६७ लाखभन्दा धेरैको सिमेन्ट आयात भएको छ ।