प्रतिभा वैद्य नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक
काठमाडौं, २० पुस । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार वैद्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो ।
कम्पनीका वर्तमान प्रबन्ध निर्देशक डिल्ली अधिकारीको पुस २२ गते कार्यकाल सकिँदै छ । अधिकारीको कार्यकाल सकिने भएपछि कम्पनीले प्रबन्ध निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो । तर, हालसम्म सो प्रक्रिया सम्पन्न नभएकाले मन्त्रालयले वैद्यलाई नायब प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।
वैद्यले कम्पनीको नायब प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने अहिले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छिन् ।
टेलिकमको कर्मचारी विनियमअनुसार कम्पनीको वरिष्ठमध्येका नायब प्रबन्ध निर्देशक वैद्यलाई निमित्त नियुक्त गरेको जनाएको छ ।
पदाधिकार सम्हाल्दै बैद्यले सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रम, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरु तथा नियामक निकाय लगायतबाट प्राप्त सल्लाह, सुझाव, गुनासोहरु छिटोछरितो तथा उचित रूपले सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् ।
उक्त कार्यमा निर्देशनालय, विभाग, कार्यालयमा कार्यरत कर्मचारी तथा क्रियाशील ट्रेड युनियनबाट विगतमा जस्तै सहयोग प्राप्त हुने उनले अपेक्षा गरेकी छिन् ।
यसैबिच सरकारले नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया विवादित भएर उक्त मुद्दा सर्वोच्चमा विचाराधीन छ । नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्न छनोटको मापदण्ड नै परिवर्तन गरिएपछि प्रक्रिया विवादित बनेको हो । पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटा निकट सुनिल पौडेललाई नियुक्त गर्न खोजिएपछि विवाद सर्वोच्चसम्म पुगेको हो ।