लगातार ३ दिन बढेको नेप्से चौथौं दिन लाग्यो ओरालो
काठमाडौं, २१ पुस । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक फेरी बुधबार ओरालो लागेको छ ।
कारोबार हुने साताको चौथो दिन बुधबार बजार परिसुचक ३०.७५ अंकले घटेर २ हजार ६ सय ४९.२० बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.१५ प्रतिशत कमी हो ।
कूल २ सय ३६ कम्पनीको ५८ हजार ५ सय ७२ पटक कारोबार हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५ सय ८३ रुपैयाँको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार बुधबार ५२ कम्पनिको मात्र शेयर मूल्य बढ्दा १ सय ३४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
तरलता अभावको विषयमा हुने सम्बोधनको पर्खाइ र बैंकको ब्याजदर स्थिर रहन्छ कि बढ्छ भन्ने जस्ता विषयमा अन्योल भइरहँदा बजारको उतारचढाव अझै केही दिन रहने शेयर लगानीकर्ता एंव विश्लेषक नवराज अधिकारीको भनाई छ ।
नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै बजारमा सुधार देखिन थालेको नेप्से बजार स्थायी हुन समय लाग्ने उनि बताउँछन् । अधिकारी भन्छन्, ‘उतारचढावबाट माथि जानका लागि सेयरबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा आवश्यक पर्ने छ ।’
उनले केही दिन शेयर बजारको मापक अंक बढेपछि केही दिन घट्नुमा आत्तिन नहुने लगानीकर्ताहरुलाई सल्लाह समेत दिन्छन् ।