महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकास केन्द्रबीच सहकार्य

काठमाडौं, ७ माघ । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरतार वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ(सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्येकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसीप फोरमको तर्फबाट संयोजक छाँया शर्मा र महिला शक्ति विकाश केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्येकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तीकरण हो र महिलाहरुको आर्थिक विकासका लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे । हस्ताक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष निर्वाण चौधरीले यो सम्झौताले महिलाको आर्थिक विकाश संगसंगै देशको दिगो विकाशमा ठुलो टेवा पुर्याउने बताए ।
वुमन लिडरसीप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एउटा पहल हो । स्थापना देखि “महिला नेतृत्व विकास“ को मूल नारा बोकेको महिला शक्ति विकास केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो, जसले देशैभरी महिला सशक्तीकरण र महिला नेतृत्वको विकास सम्बन्धि कामहरु गर्दै आइरहेको छ ।