एमसीसी पास नहुन सक्ने प्रधानमन्त्रीको संकेत
काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास नहुन सक्ने संकेत गरेका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए । पास हुन पनि सक्ने नहुन पनि सक्ने भएकाले आफ्नो मिहिनेत फेल हुने बताएका हुन् ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली कांग्रेसको संक्षित इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ पुस्तकको बिहिबार काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेकाले राष्ट्रको हितका लागि नेपाली कांग्रेस पछि नहट्ने दाबी गरे ।
प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने भन्दै राम्रो कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्बाह गर्नुपर्ने बताए ।
महामन्त्री थापाले नेपाली कांग्रेसले कुनै पनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको उल्लेख गरे ।