श्रमिक अस्पताल बन्ने भयो
काठमाडौं, ६ फागुन । सरकारले श्रमिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको मन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोलीसमेत गठन गरेका थिए । मन्त्रालयका सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको टोलीले अस्पताल संचालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
उनले मुलुकको आर्थिक विकास र समृद्धिको आधारको रुपमा रहेका लाखौं श्रमिकलाई भरपर्दो र सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको बताए ।
नेपालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारीका लागि छुट्टै अस्पताल छन् । त्यस्तै भरतपुरमा शिक्षक अस्पताल निर्माणको अध्ययन भइरहेको छ । यससँगै सरकारले श्रमिक अस्पताल निर्माण अघि बढाएको हो ।