तीन क्यासिनोलाई बक्यौता तिर्न पाँच दिनको अल्टिमेटम
काठमाडौं, ११ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन्। पटकपटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन्।
आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ।विभागले बिहीबार सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (याडिसन होटल) लाजिम्पाटका नाममा ३० करोड बक्यौता रहेको जनाएको छ।
रोयल्टी र नवीकरणबापतको बक्यौता पाँच दिनभित्र नबुझाए कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ।