Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गर्ने

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गर्ने

काठमाडौं, २१ चैत । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयलाइन्स)को जहाजले परीक्षण उडान गर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ ।

आगामी वैशाख १ नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । ‘हामी व्यावसायिक उडानको अन्तिम तयारीमा छौं, उक्त विमानस्थलमा व्यावसायिक उडान गर्न हालसम्म ११ कम्पनीले चासो देखाएका छन्,’ उनले भने ।

बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्राधिकरणको योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडो व्यावसायिक उडान भर्न निर्देशन दिएका छन् । उक्त विमानस्थलमा क्यालिब्रेसन उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । फागुन पहिलो साता क्यालिब्रेसन उडान गरिएको थियो ।

विमानस्थलबाट उडान भर्न सरकारले हवाइसेवा कम्पनीलाई औपचारिकरुपमा आग्रह गरिसकेको छ । व्यावसायिक उडानका लागि नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले चासो देखाएका छन् । व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले हप्ताको सातै दिन उडान भर्ने प्राधिकरणले जनाएको छ । उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान भर्न अनुमति मागेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x