कृषि कर्जा खेत किन्नेलाई होइन खेती गर्नेलाई दिनुपर्छ : चेम्बर अध्यक्ष मल्ल
काठमाडौं, २७ चैत्र । नेपाल चेम्बर अफ कमर्सले कृषि कर्जा खेत किन्नेलाई नभई खेती गर्नेलाई दिनुपर्ने माग राखेको छ । चेम्बरको ७१ औं वार्षिक साभारणसभा एवं चेम्बर दिवसका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले कर्जा खेती गर्नेलाई दिइनुपर्नेमा जोड दिएका हुन् ।
उनले कोरोना महामारी नियन्त्रणमा रहेकाले अर्थतन्त्र पुनरूत्थानको योजना ल्याउनुपर्ने उल्लेख गरे । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्नेमा अध्यक्ष मल्लको जोड छ ।
तरलताको चरम अभाव, विद्युत समस्या, मूल्यबृद्धि, घट्दो विदेशी मुद्रा संचिती लगायत अर्थतन्त्रमा समस्या देखिएको उनले बताए । अध्यक्ष मल्लले बजारलाई उत्साहित बनाउनुपर्ने उल्लेख गरे । ‘आयातलाई निरूत्साहित गर्दा अर्थतन्त्र थप संकुचन भएको छ,’ उनले भने, ‘कृषि, पर्यटन, जलस्रोतको प्रबर्द्धन गर्न सरकार र निजी क्षेत्रबीच हातेमालो गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।’
कार्यक्रमका प्रमुख अतिथी सभामुख अग्निप्रसाद सापकोटाले देशभक्तिलाई केन्द्रमा राखेर मुलुकमा देखिएको आर्थिक लगायत समस्या समाधान गर्नुपर्ने बताए । ‘निकास कसरी दिन सकिन्छ भन्नेमा नै सबै केन्द्रित हुनुपर्छ । गहन छलफलबाट नै सबै समस्या समाधान हुन सक्छ , ।’ उनले भने । जलवायु परिवर्तनले पर्यावरणमा असर पारेको र त्यसले मानव शभ्यतालाई नै संकटमा पार्ने देखिएकोले त्यसको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परिसकेको सभामुख सापकोटाको भनाई छ ।
नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सरकार र निजी क्षेत्रबीच सेतुको रूपमा सबैभन्दा अगाडि चेम्बरले भूमिका खेलेको बताए । उनले सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक भएको बताए । एकले अर्कालाई शंकाको दृष्टिकोणले नभई सहयात्रीको रुपमा हेरिएको उनले बताए ।
सरकारले निजी क्षेत्रलाई सहयात्रीको रूपमा हेर्दै र साही अनुसार व्यवहार पनि गर्दै आएकोले सरकार व्यवसायमैत्री वातावरण बनाउनुपर्ने बताउदै मुख्य सचिव बैरागीले उर्जा खपत बढाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको समापन गर्दै चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले रोजगार सिर्जना गर्ने कार्यमा निजी क्षेत्र मुख्य जिम्मेवार रहेको दाबी गरे । उनले सरकारसँगै नीजि अघि बढ्न सम्पूर्ण कानूनी बाधापन निरुत्साहन गर्नुपर्नेमा जोड दिए ।
चेम्बर दिवसको अवसरमा विभिन्न विधामा क्रियाशिल विभिन्न व्यक्तिहरुलाई चेम्बरले दोसल्ला, कदर पत्र, चादीको सिक्का र १ लाख रुपैयाँ सहितले सम्मान समेत गरेको थियो ।