Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

दुर्गा लक्ष्मी स्टिल ५८ करोडमा सञ्चालन हुँदै

दुर्गा लक्ष्मी स्टिल ५८ करोडमा सञ्चालन हुँदै

काठमाडौं, ३ वैशाख । निजी लगानीमा नयाँ स्टिल उद्योग सञ्चालनमा आउने भएको छ । ५८ करोड १० लाख रुपैयाँ लगानीमा दुर्गा लक्ष्मी स्टिल्स प्राइभेट लिमिटेड सञ्चालनमा आउन लागेको हो ।

कुल लागत मध्ये ६० प्रतिशत बैंकबाट ऋण र बाँकी ४० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ । आउँदो मध्य अक्टुबर (कात्तिक) देखि उद्योगले ब्ल्याक पाइप र ग्याल्भनाइज आइरन (जीआई) पाइप उत्पादन थाल्ने लक्ष्य लिएको छ ।

उद्योगको ब्ल्याक पाइप र जीआई पाइप उत्पादन क्षमता वार्षिक ६० हजार टन रहेको छ । ब्ल्याक पाइप र जीआई पाइप उत्पादन गर्न उद्योगले क्वाइल र जिंक कच्चा वस्तु भारतलगायत अन्य तेस्रो मुलुकहरुबाट आयात गर्ने भएको छ ।

अघिल्लो वर्षदेखि नै पाइप उत्पादन थाल्ने लक्ष्य लिएको भए पनि विभिन्न कारणले गर्दा उद्योग सञ्चालन हुने समय एक वर्ष पछि सरेको छ । जसले गर्दा उद्योगको लागत पनि बढेको छ । हाल उद्योगको प्लाण्ट निर्माणको चरणमा रहेको छ ।

उद्योग सञ्चालन गर्न दुर्गा लक्ष्मीले बैंकहरुबाट ऋण लिन १ अर्ब २० करोड रुपैयाँको क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी एलबी ए फोर’ रेटिङ दिएको छ । जसमध्ये ३५ करोड १९ लाख रुपैयाँ दीर्घकालिन र ८४ करोड ८१ लाख रुपैयाँ अल्पकालिन ऋण लिन लागेको उद्योगले जनाएको छ ।

सन् २०१९ मा स्थापना भएको उद्योगको अध्यक्ष माधव रेग्मी रहेका छन् । दुर्गा लक्ष्मीमा उनको ४६, अनुराग पाण्डेको २२, पूर्ण सिलवालको १३ र सिद्धिप्रसाद अधिकारीको १३ प्रतिशत सेयर लगानी रहेको छ । उद्योगले ठूलो ट्युव मिल प्लान्ट स्थापना गर्न लागेको छ ।

कारखाना नवलपरासीको शिवराज नगरपालिकामा रहने छ । नेपाल–भारत सीमाको ४५ किलोमिटर दुरीमा रहेकाले कच्चा वस्तु आयात र बजारमा उत्पादित वस्तु पठाउन सहज हुने उद्योगले जनाएको छ ।

बजारमा धेरै प्लेयर्स भएका कारण नेपालमा सञ्चालनमा रहेका स्टिल उद्योगहरुबीच तीव्र प्रतिस्पर्धा रहेको छ । रोलिङ मिल्स, ट्युव मिल्स र तयारी स्टिल प्रोडक्ट र ब्ल्याक पाइपको आयात भन्सारदर २० प्रतिशतसम्म रहेकाले दुर्गा लक्ष्मीको आम्दानी र नाफामा प्रभावित हुने संभावना रहेको इक्रा नेपालले औल्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x