Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं, २० वैशाख । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर दुई रुपैँया तथा डिजेल र मटितेलमा प्रतिलिटर तीन—तीन रुपैँया मूल्य समायोजन गरीएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य समायोजन अनुसार पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर एक सय आठ रुपैँया तथा डिजेल र मटितेलको प्रतिलिटर ९० रुपैँया पुगेको छ ।
निगमलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार हरेक पाक्षिकमा मूल्य समायोजना गर्ने अधिकार दिएको छ । सोही अनुसार निगमले भारतीय आयल निगम (आइओसी) बाट हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा प्राप्त गर्ने मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । निर्वाचनपछि लगातार मूल्य समायोजन भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ७५ डलर प्रतिब्यारेल रहेपनि नेपाली मुद्रा डलरको तुलनामा कमजोर हुँदा विनिमयदरका कारण मूल्य बढाउनुपर्ने अवस्था सिर्जना भएको निगमका निमित्त कार्यकारी प्रमुख सुशील भट्टराईले जानकारी दिए । दुई साता अघि गत अप्रिल १५ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल ७१ डलर प्रतिब्यारेल थियो भने नेपाली रुपैँयासँग विनिमय दर १०४रुपैँया ६० पैसा थियो ।
मूल्य समायोजनसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १ रुपैँया ९० पैसा, हवाई इन्धन आन्तरिक र बाह्यमा क्रमशः १० रुपैँया ९५ पैसा र ३० रुपैँया प्रतिलिटर, मटितेलमा १७ रुपैँया ८२ पैसा प्रतिलिटर नाफा छ । यद्यपि डिजेलमा प्रतिलिटर १ रुपैँया २२ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ६४ रुपैँया घाटा छ । मूल्य समायोजनपछि निगमलाई यो पाक्षिकमा १० करोड ५५ लाख नाफा हुने अनुमान गरिएको छ । यद्यपि भारतीय सीमावर्ती बजारको तुलनामा नेपालमा पेट्रोलियम पदार्थ सस्तो छ । पेट्रोलमा २१ रुपैँया ९२ पैसा र डिजेलमा २४ रुपैँया ६१ पैसा प्रतिलिटर नेपाली बजारमा सस्तो रहेको निगमका प्रवक्ता गोइतले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x