वैशाख ११ देखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने
काठमाडौं, ६ वैशाख । आगामी ११ वैशाखदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु हुने भएको छ । गत २९ चैत २०७७ बाट मेलम्चीको पानी हालेर सुरुङ भर्न थालिएको थियो ।
खानेपानी तथा सरसफाइमन्त्री मन्त्री उमाकान्त चौधरीले काठमाडौंमा ११ वैशाखदेखि उपत्यका आसपासका घरका धारामा मेलम्चीको पानी आउने बताए । मन्त्री चौधरीले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी समानुपातिक ढंगले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नका लागि पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणका लागि विशेष पहल गर्नु पर्ने पनि उनले बताए ।