नेपाल एयरलाइन्सले दैनिक आधा आम्दानी गुमाउँदै
काठमाडौं, ६ वैशाख । ‘निजी एयरलाइन्सले उडान नगर्ने नेपालका दुर्गम क्षेत्रमा नेपाल एयरलाइन्स मार्फत उडान गर्ने’। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको यो उच्चारण भाषणमा मात्र सिमित रहेको छ ।
निगमको महाप्रबन्धक डिमप्रकाश पौडेल हुँदाहुँदै युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष बनाएपछि आलेको समय भाषणमा सिमित भयो ।
आन्तरिक उडानमा नेपाल एयरलाइन्सको अवस्था झनै बिजोक भएको छ ।
कारण हो नेपाल एयरलाइन्सले नियमित उडान गर्न नजान्नु ।
अहिले नेपाल एयरलाइन्सले एउटा जहाजबाट मात्र उडान गरिरहेको छ । भएकै दुईवटा जहाजबाट नियमित उडान गर्न नसक्ने अवस्थामा एयरलाइन्स व्यवस्थापन पुगेको छ ।
नेपाल एयरलाइन्सले जहाज भाडामा मात्र दिएको छैन, उसले आफ्नो व्यापार पनि आधा गुमाएको छ । अहिलेको चार्टरबाट हुने आम्दानी र नियमित उडानको सम्भावित आम्दानीको अन्तर आधा छ । यसबाट नेपाल एयरलाइन्सलाई दैनिक लाखौं नोक्सानी भएको छ ।
अहिले एउटा टिवनअटर जहाज उडान आफै गर्ने हो भने दैनिक ११ देखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने निगम स्रोतको दाबी छ ।