क्यान इन्फोटेक सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागिता
काठमाडौं, १३ वैशाख । काठमाडौंको भृकुटीमण्डपमा वैशाख ७ देखि १२ गते (६ दिन) सम्म आयोजना भएको आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आर सम्पन्न भएको छ ।
सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड १९ का कारण २ पटकसम्म स्थगित भएको थियो । शुरुदेखि नै पुष, माघ, फागुनको जाडो महिनामा हुने प्रदर्शनी यस पटक पहिलो पटक वैशाख महिनामा सम्पन्न भएको हो ।
इन्फोटेकमा आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएकोमा प्रायजसो स्टलहरुले छूट तथा अफरहरूलाई आगामी १,२ महिनासम्म कायम राख्ने क्यान महासंघले जानकारी गराएको छ ।
२ वर्ष अगाडि सम्पन्न क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाख जनाले अवलोकन गरेकोमा यो संस्करणमा करिव सवा २ लाखजना अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरेको बताइएको छ । प्रदर्शनीको ६ दिनको अवधिमा नेपालका कलाकार तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विभिन्न नियोगमा कार्यरत कर्मचारीहरुले पनि प्रदर्शनीको अवलोकन गरेका थिए ।
अवलोकनकर्ताहरुले स्टार्टअप र इन्नोभेशनलाई प्राथमिकता दिने महासंघको निर्णयको स्वागत गरेका छन । इन्नोभेशनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको थियो भने स्टार्टअपका निम्ति सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो ।
यस्तै सो प्रर्दशनीमा उत्कृष्ट स्टलको पुरस्कार वल्र्डलिङ्क कम्युनिकेसन लिमिटेड तथा उत्कृष्ट स्टार्टअपको पुरस्कार बिआइसि टेक्नोलोजी प्रा।लि। ले जितेका छन । क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका थिए जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका थिए ।