सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंक बीच तलबी बचत खाता तथा कर्जा सुविधा प्रदान गर्न सम्झौता

काठमाडौं, १४ वैशाख । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र प्रहरी तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा वैशाख १४ गते आयोजित एक समारोहका वीच सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको हालको अवस्था, वैंकले प्रदान गर्दै आएको सेवावारे जानकारी गराउनुहुँदै प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको वताउनुभयो । बैंकले गत आ.व. को मुनाफावाट ३३ प्रतिशत लाभांश दिन सफल भएको समेत जानकारी गराउनुभएको थियो ।
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले संगठनले विभिन्न कल्याणकारी योजनाहरु मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताउनुभयो ।
प्रहरी बलमा कार्यरत राष्ट्रसेवकहरुले पाउने तलव भत्ता तथा आर्थिक सुविधाहरु अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप भएको सो सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम रु. १५ लाख सम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।