विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्ने बाटो खुल्यो
काठमाडौं, ३१ वैशाख । अन्ततः बीमा समितिले पुनर्बीमा सहज हुने गरी नयाँ नीति ल्याएको छ । बीमा कम्पनीहरूले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने गरी नीति ल्याएपछि चौतर्फी रूपमा आलोचना भएको थियो । यसैबीच समितिले विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्न सक्ने गरी बीमा कम्पनीहरूलाई बाटो खोलिदिएको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुनर्बीमामा केही लचिलो नीति ल्याइएको बताए ।
यस्तै, बीमकले ट्रिटी पुनर्बीमाअन्तर्गत पुनर्बीमा गर्दा प्रत्यक्ष अंशबाहेकमा प्रथम वर्ष कम्तीमा १५ प्रतिशत र दोस्रो वर्षदेखि कम्तीमा २० प्रतिशत पुनर्बीमा प्रत्येक पुनर्बीमकलाई दिनुपर्नेछ । त्यसबाहेकको पुनर्बीमा भने विदेशी कम्पनीमा पनि गर्न सकिने बताइएको छ ।
यद्यपि, यात्रा तथा स्वास्थ्य बीमाबाहेक मोटर बीमा, कृषिबीमा, लघु बीमा तथा विविध बीमालाई स्वदेशमा नै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने समितिको निर्देशन छ । त्यसअनुसार कम्पनीहरूले यात्रा तथा स्वास्थ्य बीमाको पुनर्बीमा विदेशी कम्पनीमा गर्न सक्नेछन् ।
यस्तै, फ्याकल्टेटिभ पुनर्बीमामा पहिला शतप्रतिशत नै स्वदेशी कम्पनीलाई दिनुपर्नेछ । स्वदेशी पुनर्बीमा कम्पनीले त्यो अस्वीकार गरेको खण्डमा विदेशी कम्पनीमा पुनर्बीमा गर्न सकिनेछ । विदेशी कम्पनीमा पुनर्बीमा गर्न परेमा एएम बेस्ट तथा बी रेटेट कम्पनीमा गर्नुपर्नेछ । तर, दक्षिण एशियाको पुनर्बीमा कम्पनी भएमा रेटिङको मापदण्ड लागू नहुने बताइएको छ ।
जीवन बीमामा प्रदेशगत असमानता फराकिलो
जीवन बीमा व्यवसायमा प्रदेशगत असमानता फराकिलो देखिएको छ । राज्यको आँखाबाट ओझेलमा परेको कर्णाली, सदूरपश्चिमजस्ता प्रदेशमा जीवन बीमा व्यवसाय फस्टाउन नसकेको देखिएको छ । बाग्मती प्रदेशमा भने जीवन बीमा व्यवसाय सबैभन्दा माथि देखिएको छ ।
जीवन बीमा कम्पनीहरूले यस आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब २ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ९३ अर्ब ८६ करोड बीमाशुल्क संकलन गरेका थिए ।