यो साता शेयर बजारमा वृद्धि
काठमाडौं, वैशाख ३१ । लगानीकर्ताहरुको मनोबलका आधारमा उचारचढाब आउँने धितोपत्र बजार यो साता सकारात्मक देखिएको छ ।
स्थानीय चुनावका कारण बजारमा तरलता सहज हुने विश्वास र जेठमा ब्याजदर नबढ्ने भएसँगै यो साता लगानीकर्ताहरुको मनोबल बढेको देखियो । साथै बजार निरन्तर घटेर २ हजार २२५ को विन्दुमा झरिसकेको अवस्थामा लगानीकर्ताहरु सस्तोमा शेयर किन्न उत्साहित बनेकाले पनि यो साता बजारमा सकारात्मक प्रभाव परेको स्टक एक्सचेञ्जले जनाएको छ ।
गत साता २ हजार २३८ दशमलव ६२ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १११ दशमलव ८० अंकले बढेर २ हजार ३५० दशमलव ४२ विन्दुमा पुगेको छ । यो साता पाँच कारोबार दिनमा चार दिन लगातार बढेको नेप्से परिसूचक पाँचौ दिनमा भने करेक्सन आएको छ । चार दिन निरन्तर बढेको बजारबाट नाफा बुक गर्ने हाबी हुँदा पाँचौ दिन बजारमा करेक्सन देखिनुलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् ।
अनुभवि लगानीकर्ताहरुले बैंकहरुको व्याजदर नबढ्नु र स्थानीय निर्वाचन पछि बजारमा तरलता भित्रिने सम्भावना रहेकाले आगामी दिनमा पनि बजार अझै माथी जाने विश्वास व्यक्त गरेका छन् ।
यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २१ दशमलव ४१ अंकले बढेको छ । गत साता ४३२ दशमलव ५५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५३ दशमलव ९६ विन्दुमा पुगेको हो ।
यो साता पाँच कारोबार दिनमा रू. ८ अर्ब ५६ करोड ६१ लाखभन्दा बढीको २ करोड ५ लाख ५६ हजार ६५४ कित्ता धितोपत्र खरीदविक्री भएको छ । गत साता तीन कारोबार दिनमा रू. ४ अर्ब ३४ करोड ७२ लाखभन्दा बढीको १ करोड २२ लाख ५५ हजार ८६७ कित्ता धितोपत्र खरीद विक्री भएको थियो ।
चार दिन निरन्तर बढेको बजारमा यो साता लगानीकर्ताहरुको कुल सम्पत्तिको मूल्य रू. १ खर्ब ५८ अर्ब ७८ करोड ७४ लाखले बढेको छ । गत साता रू. ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख पुगेको हो ।
यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएको स्टक एक्सचेञ्जको तत्थ्यांकमाा उल्लेख छ ।
गत साता सर्वाधिक गुमाएका वित्त समूहका लगानीकर्ताहरुले यो साता सर्वाधिक कमाएका छन् । अघिल्लो साताको तुलनामा गत साता सर्वाधिक ८ दशमलव ९४ प्रतिशतले घटेको वित्त समूहको उपसूचक यो साता भने सर्वाधिक १० दशमलव ९६ प्रतिशत बढेको छ ।
वित्त समूहसँगै यो साता जलविद्युत समूहको उपसूचक पनि १० दशमलव २७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै यो साता अन्य समूहको ७ दशमलव २७ प्रतिशत, विकास बैंकको ६ दशमलव ६१ प्रतिशत, लगानी समूहको ५ दशमलव ५३ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव ९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव ७३ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ३ दशमलव ७७ प्रतिशत, बैंकिङ समूहको ३ दशमलव ६८ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ५१ प्रतिशत, व्यापारिक समूहको २ दशमलव २८ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ३१ प्रतिशत र म्युचुअल फण्ड समूहको उपसूचक १ दशमलव शून्य ५ प्रतिशत बढेको छ । यो साता सबै समूहगत उपसूचहरु गत साताको तुलनामा स्टक एक्सचेञ्जको हिसाबले देखाउँछ ।