Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा कडाइ गरिने

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा कडाइ गरिने

काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । उक्त समीक्षामार्फत केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदरलाई कडाइ गर्ने संकेत गरेको छ । आन्तरिक तथा बाह्य क्षेत्रमा चाप परेको भन्दै ब्याजदरका साथै अन्य छनोटका उपकरण अपनाइने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

यसैगरी विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरहरूलाई यथावत् राखिने भएको छ । मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धनलगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइनेछ ।

मौद्रिक नीतिअनुसार कोभिडको समयमा अवलम्बन गरिएको लचिलो नीतिगत कार्यदिशा र कोभिड संक्रमणमा आएको कमीले आर्थिक पुनरुत्थानका गति बढ्नुका साथै आन्तरिक मागसमेत विस्तार भएको छ । आन्तरिक उत्पादन र मागबीच बढ्दै गएको अन्तरको प्रभाव व्यापार घाटा, चालू खाता तथा शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चिति जस्ता बाह्य क्षेत्रका परिसूचकमा परेको छ ।

बाह्य क्षेत्रमा परेको दबाब कम गर्न अवलम्बन गरिएका नीतिगत व्यवस्थाका फलस्वरुप विदेशी विनिमय सञ्चितिको घट्ने दर केही कम भएको छ। तथापि, आन्तरिक माग तथा आपूर्तिको अवस्था, विप्रेषण आप्रवाहको वर्तमान प्रवृत्ति र अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सेवा र पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिका कारण आयात मूल्यमा भएको वृद्धिसमेतलाई दृष्टिगत गर्दा बाह्य क्षेत्र स्थायित्वमा विद्यमान जोखिम केही समय कायमै रहने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x